‘काठमाडौंमा आक्रमण गर्न गिरिजाको प्रस्ताव थियो’

काठमाडौं । प्रचण्ड-माधवपक्षीय नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य युवराज दुलाल ‘शरद’ तत्कालिन माओवादी जनसेनाका पूर्वकमाण्डर हुन् । शान्तिप्रक्रियापछि तत्कालीन माओवादीका सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत केन्द्रीय नेताहरूको सुरक्षाको कमाण्डसमेत उनले सम्हाले ।

पछिल्लो समय उनी बागमती प्रदेशको सामाजिक विकास मन्त्री थिए । नेकपामा विवादसँगै आफ्नो समूको योजनाअनुसार दुलाल मन्त्रीबाट राजीनामा दिएर बसेका छन् ।

युद्धकालमा ब्रिगेड सहायक कमाण्डरको भूमिकामा माओवादी सशस्त्र युद्धको अन्तिम आक्रमण उनी संलग्न थिए । उनले काठमाडौं लक्षित थानकोट आक्रमणको समेत नेतृत्व गरेका थिए । तत्कालीन माओवादीले व्यवस्था नै बदल्ने भन्दै सशस्त्र युद्ध थालेको २५ वर्ष पुगिसकेको छ । सशस्त्र युद्धको २५ औं वर्षगाँठका अवसरमा नेपाल प्रेससँग तत्कालीन सैन्य कमाण्डर दुलालले आफ्नो जनयुद्ध अनुभव यसरी वर्णन गरे :

देशमा एकात्मक सामन्ती राजतन्त्रको अन्त्य गरेर गणतन्त्र ल्याउनुपर्छ र त्यसका लागि सशस्त्र दीर्घकालीन युद्ध नै आवश्यक छ भन्ने बहस चल्न थाल्दा म बालकै थिएँ । विद्यालय पढ्दै गर्दा क्रान्ति र परिवर्तनका कुराहरुले मलाई आकर्षित गरिहाल्यो ।

माओवादी जनयुद्ध शुरु हुँदा म १४ वर्षको थिएँ । अहिलेको सिन्धुपाल्चोकको चौतारा साँचोगढी नगरपालिका वडा नम्बर ७ मा रहेको सिद्धि गणेश माविमा पढ्थेँ । त्यतिबेलै अखिल क्रान्तिकारीको विद्यालय इकाइ कमिटीमा आवद्ध भएर क्रान्तिको भूमिमा पाइला टेकेको हुँ ।

विद्यालयमा जनयुद्धका भूमिगत पर्चाहरू बाँड्ने, राँके जुलुस गर्ने, भूमिगत भएका माओवादी कार्यकर्ताको रुट तय गर्ने, सेल्टर व्यवस्थापन लगायतका काम हामी गथ्र्यौं । २०५५ सालमा एसएलसी दिएपछि पार्टी संगठन र विद्यार्थी संगठनका नेताहरूको तर्फबाट जनयुद्धमा पूर्णकालीन भएर लाग्ने प्रस्ताव आयो । तर, घर-परिवारबाट भने पढाइलाई नै निरन्तरता दिनुपर्ने जोड थियो । उहाँहरु मलाई विज्ञान विषय लिएर पढ्न सुझाव दिनुभयो ।

परिवारको सुझावअनुसार म काठमाडौं पढ्न आएँ । पाटन क्याम्पसमा कर्मस पढ्ने निर्णयमा पुगेर फर्म भरियो । काठमाडौंको विद्यार्थी राजनीतिका गतिविधमा व्यस्त पनि भएँ । भूमिगत गतिविधिमा पनि उत्तिकै संलग्नता भइराख्थ्यो । प्रहरी निसानामा पर्न थालियो । बाहिर बसेर भूमिगत गतिविधि गर्दा गिरफ्तारीको खतरा पनि बढ्यो । अनि आइकमको पहिलो वर्षको परीक्षा दिएर म भूमिगत भएँ । यो २०५६ तिरको कुुरा हो ।

प्रारम्भिक सैन्य तालिम
शुरुमा भूमिगत भएर म सिन्धुपाल्चोकमै बसेँ । मलाई पार्टीले केही महिनापछि दोलखाको विद्यार्थी संगठनको कार्यवाहक अध्यक्ष बनाएर पठायो । त्यहीँ मैले प्रारम्भिक सैन्य तालिम लिएँ । विद्यार्थीको जिल्ला नेता हुँदा नै मैले ‘स्क्वाड’ को सैन्य तालिम पुरा गरेँ । पछि जनमुक्ति सेनाको शिविरको तालिम पनि सकेँ । विद्यार्थीमा काम गर्दागर्दै मलाई सेनामा काम गर्न मन लाग्यो र २०५७ देखि जनमुक्ति सेनामा प्रवेश गरेँ । त्यहाँ मलाई प्लाटुन सहायक कमाण्डर नियुक्ति गरियो । त्यसमा ४५ जना जनमुक्ति सेना रहन्थे ।

स्क्वाडमा तालिम गर्दागर्दै पनि विभिन्न फौजी कारबाहीमा मैले सहयोगी भूमिका निर्वाह गरेकै हुन्थेँ । एम्बुस राख्ने काममा हामी खटिन्थ्यौं । युद्धको अनुभव पनि भइराखेको हुन्थ्यो ।

कोड भाषाले झुक्याएको त्यो आक्रमण
मैले आफैले एसल्ट (युद्धमा अगाडि गएर आक्रमण गर्ने समूह) को कमाण्ड गरेर लडेको पहिलो लडाइँ चाहिँ सोलुखुम्बुको सल्लेरी कारबाही हो । जिल्ला सदरमुकाम नै कब्जा गर्ने योजना थियो । त्यतिबेला दाङको घोराही, स्याङ्जाको स्याङ्जा र सोलुखुम्बको सल्लेरी आक्रमण गर्ने पार्टीको योजना थियो । चलिरहेको शान्ति वार्ता ‘बे्रक’ गरेर त्यो फौजी कारबाही गरिएको हो । मलाई त्यो भन्दा अघिको युद्धको अनुभव हेरेर जिल्ला प्रहरी कार्यालयको मुल गेटको एसल्टको जिम्मेवारी दिइएको थियो । मैले त्यो कुशलतापूर्वक निर्वाह गरेँ ।

हामीले एकदिन अगाडि आक्रमण गर्नुपर्ने थियो । तर प्राविधिक त्रुटिले गर्दा हामी एक दिन पछाडि पर्‍यौं । नेतृत्वले पार्टी हेडक्वार्टरमा समन्वय गर्दा ल्यान्डलाइनबाट फोन गर्नुपथ्र्यो । कोड भाषा प्रयोग गरिन्थ्यो । ‘डबल वान’ भनेको त्यस्तै एउटा कोड रहेछ । जसको अर्थ ११ बजे आक्रमण गर्ने भनेको रहेछ । हाम्रो कमाण्डरले ११ गते भन्ने बुझिदिनुभए छ । १० गते ११ बजे हुनुपर्नेमा ११ गते १० बजे बुझिदिनु भएछ । त्यो बेला अहिले जस्तो सञ्चारको सुविधा थिएन । धेरै टाढा गएर, त्यो पनि सुरक्षाको सबै प्रबन्ध मिलाएर कोड भाषामा पार्टीको माथिल्लो कमााण्डसँग सम्पर्क गर्नुपर्ने अवस्था थियो ।

हामीलाई पछि थाहा भयो आजै हो आक्रमण गर्ने भन्ने । तर, हामी १० गते नै तयारी गरेर जान सकेनौं । अनि हामीले ११ गते नै १० बजे हान्नुपर्ने स्थिति बन्यो । अघिल्लो दिन नै स्याङ्जा र घोराहीमा आक्रमण भइसकेको थियो । दाङमा सेनामाथि नै आक्रमण भएको थियो । अब माओवादीले सेनामाथि नै आक्रमण गर्छन् भन्ने कुरा ‘एक्सपोज’ भइसकेको थियो र सेना सतर्क भएको थियो ।

हामीले ‘हाइ अलर्ट’ मा रहेको सल्लेरीको सेनाको व्यारेक, प्रहरी कार्यालय र सीडीओ कार्यालयमा एकैपटक घेराबन्दी गरेर आक्रमण गर्‍यौं । प्रहरी र सीडीओ कार्यालय हामीले सम्पूर्णरुपमा कब्जा गर्‍यौं । तर, सेनातर्फको लडाइँ चाहीँ सफल हुन सकेन । हामीले अघिल्लो दिन नै ‘सरप्राइज अट्याक’ गर्न पाएको भए सायद सफल भइन्थ्यो ।

हामीसँग थ्री नट थ्री मात्रै थियो । सेनासँग आधुनिक हतियार थियो । हतियारकै तालमेल पनि मिलेन । हाम्रोतर्फ सबै गरेर १४ जना साथीहरूको मृत्यु भएको थियो । प्रहरीतर्फ मेरो बिचारमा ४० जना जतिको क्षति भएजस्तो लाग्छ । सेनासँग बिहान तीन/चार बजेसम्म लडाइँ भयो तर कब्जा गर्न सकिएन । सल्लेरी आक्रमणको फौजी कमाण्डर सन्तु दराइ ‘परवाना’ हुनुहुन्थ्यो ।

मैले दुई एसल्टको नेतृत्व गरेर जिल्ला प्रहरी कार्यालयको मुल गेटबाट विजय प्राप्त नहुँदासम्म आफ्नो कमाण्ड सम्हालेँ । पार्टीले मलाई दिएको जिम्मेवारी र आफूले खेलेको भूमिका दुवैप्रति गौरव लागेको थियो ।

ती ४० भीडन्त
समग्रमा जनयुद्धका ४० वटा युद्ध मोर्चामा म सहभागि भएँ । तीमध्य पहिलो ठूलो कारबाही सोलुखुम्बुको सल्लेरी हो । त्यहाँबाट हामीले सिराहाको लहानमा कारवाही गर्‍यौं । ओखलढुंगाको रुम्जाटारको सैन्य व्यारेकमाथि हामीले आक्रमण गर्‍यौं । यस्तै, काभ्रेपलाञ्चोकको भकुण्डेबेसीमा हानियो । दोलखा सदरमुकाम चरिकोटमा रहेको कारागार कब्जा गर्ने गरी हमला गर्‍यौं । दोलखा र सिन्धुपाल्चोकको मुढेमा हामीले सेनासँग बिहान १० बजे राजमार्गमा लड्यौं । सर्लाहीको बयलबासमा मेरै कमाण्डमा दिउँसो चार बजे इलाका प्रहरी कार्यालयमाथि आक्रमण र कब्जा गर्‍यौं ।

पूर्वतिर हाम्रो सबैभन्दा ठूलो लडाई सिराहाको बन्दीपुर हो । हामीले चारवटा ब्यारेकमाथि एकै दिन आक्रमण गर्‍यौं, त्योमध्ये मुख्य लडाइँ बन्दीपुर थियो । त्यसलाई हामीले ‘अप्रेशन बिके बिशाल’ नाम दिएका थियौं । विशाल र कुमार चाहीँ पार्टीको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । उहाँहरु शहीद हुनु भएको थियो ।

त्यो पूर्वी डिभिजनको सबैभन्दा ठूलो मोर्चाबद्ध युद्ध पनि हो । त्यसको माथिल्लो कमाण्ड वर्षमान पुन ‘अनन्त’ ले गर्नु भएको थियो । म त्यतिबेला सेनाको बटालियन कमाण्डर थिएँ । एउटा बटालियनमा करिब ५ सय सेना हुन्थ्यौं ।

यो लडाइँ सोचेअनुसार राम्रो हुन सकेन । राती सेनाको नाइटभिजन आयो । माथिबाट बम खसाल्न थाल्यो । सबैतिरको आर्कमा हाम्रोतर्फ क्षति हुन थाल्यो । साथीहरू शहीद हुने क्रम बढ्यो । केही कमाण्डर कमिसार पनि शहीद भए । त्यसले गर्दा ती आर्कमा कमाण्ड भएन । सबैतिर उत्तिकै राम्रो नहुँदा घेरा कस्न सकिदैन ।

तर, मैले कमाण्ड गरेको सैनिक ब्यारेकको राजमार्ग पट्टिको मुख्य गेटको लडाइँमा चाहीँ बिहान पाँच बजेसम्म पनि मोर्चा छोडेनौं । बीचमा मैले कमाण्डर अनन्तलाई सम्पर्क गरेर ‘हाम्रो क्षेत्रबाट कब्जा गर्ने सम्भावना छ, म अगाडि बढीरहेको छु’ भने । उहाँले अगाडि बढ्न भन्नुभयो । करिब बिहान पौने पाँच बजेसम्म हामी लड्यौं तर कब्जा भएन ।

त्यहाँबाट फर्किँदा सिन्धुलीको सान्दानेमा सेनाले हामीलाई घेरा हाल्यो । त्यहाँ पनि हामी दिउँसै लडेर अगाडि बढ्यौं । त्यसपछि हामीले ‘काउन्टर’ योजना बनायौं । सेनाले पिछा गरेको गर्‍यै गर्‍यो । काभ्रेपलाञ्चोकको नार्के आइपुग्दा सेनासँग आमनेसामने भइयो । त्यहाँ हामीले सेनालाई आक्रमण गर्‍यौं र दिउँसै सेनामाथि बिजय प्राप्त गर्‍यौं । फेरि पनि हामीलाई सेनाले छोडेन । काभ्रेकै घर्तीछाप भन्ने ठाउँमा सेना आइपुग्यो । त्यहाँ पनि सेनासँग लडेर हामीले बिजय प्राप्त गर्‍यौं ।

ढाडमा गोली लागेपछि
काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा रहेको ब्यारेकमा हामीेले २०६२ माघ २४ गते आक्रमण गर्‍यौं । त्यो पनि ठूलै लडाइँ हो । त्यहाँ म गम्भीर घाइते भएँ । मलाई गोली लागेको थियो । ढाडमा लागेको गोली पेटबाट निस्केको थियो ।

पनौतीको आक्रमणमा म पाचौंपटक घाइते भएका थिएँ । त्यसअघि रुम्जाटारमा पनि मलाइ बमका छर्रा लागेका थिए । चैनपुरमा पनि बमका छर्रा लागेको थियो । एकपटक गोली लागेर हात छेडिसकेको थियो । मकवानपुरको झुरझुरेमा बम लागेर छातीमा ठूलो घाउ भएको थियो । पूर्णरुपमा निकै नभइ म पनौतीको आक्रमणका सहभागि भएको थिएँ । एउटा हात नचल्दै पनि म कारबाहीको कमाण्ड गर्न आएको थिएँ ।

आधुनिक हतियारको फायरमा हामी एकैपटक दुई जना साथी पर्‍यौैं । एकजना अभिमत भन्ने साथी हुनुहुनथ्यो । उहाँलाई गोली पनि ढाडबाट लागेर गोली पेटबाट निस्क्यो । उहाँ दुई/तीन दिनपछि बित्नुभयो । म चाहीँ भाग्यवस बाँचे ।

गोली लागेपछि शुरुमा त म हिँडेरै फर्केँ । रगत आइरहेको थियो, हातले टाल्दै हिँडे । मेडिकल पोस्टमा पुगेपछि साथीहरूले मलाई बोक्न कोसिस गर्नुभयो । तर, मेरो हाइट र तौल धेरै भएकाले उहाँहरूले बोक्न सक्नु भएन । घिसार्दै लगेर गाडीमा हाल्नुभयो । गाडीले काभ्रेको कामीडाँडा पुर्‍यायो । भोलिपल्ट गाउँलेले स्ट्रेचरमा बोकेर लानु भयो । म कहीँ हिँडे, कहीँ बोकियो ।

स्वास्थ्यकर्मीले मुखबाट कुनै पनि खानेकुरा खान मलाई दिएका थिएनन् । अवस्था गम्भीर छ भन्ने त्यहीबाटै लागेको थियो । म यो घाउका कारणले मर्न सक्छु भन्ने शंका थियो । तर, मृत्युसँग केही मतलव नै थिएन । केही डर पनि थिएन ।

भारतमा लगेर जाँच गरिसकेपछि भने खतरामुक्त देखियो । त्यहाँबाट फर्किएर आएर मैले मकवानपुर र चितवन क्षेत्रमा दुई महिनासम्म आराम गरेँ ।

फिल्मी शैलीको थानकोट आक्रमण
जनयुद्धको अन्तिम शहरी लडाइँ चाहीँ काठमाडौंको थानकोटमा हो । २०६२ साल माघ १ गते त्यहाँ आक्रमण गरेका थियौं ।

खासमा भन्ने हो भने थानकोटमा कारबाही गर्ने ठोस सपना नै मेरो हो । पार्टीमा प्रस्ताव पनि मैले गरेको हो । पार्टीले जिम्मा पनि तोकेर मलाइ नै दिएको हो । त्यतिबेला यो क्षेत्रको कमाण्ड इन्चार्ज अनन्त हुनुहुन्थ्यो । उहाँले मेरै नेतृत्वमा पठाउने भनेर निर्देशन दिनु भएको रहेछ मेरो कमिसारलाई ।

थानकोटमै आक्रमण गर्नुपर्छ भन्ने पार्टीको निर्देशन चाहीँ थिएन । जनमुक्ति सेनाले थानकोटमै आक्रमण गर्न सक्छ भन्ने पार्टीलाई विश्वास लागेको थिएन । काठमाडौं उपत्यकाभित्र कुनै पनि ठाउँमा जनताले देख्ने ठाउँमा तीस/चालीस जना जनमुक्ति सेना बर्दी लगाएर मार्चपास मात्रै गर्‍यो भने पनि त्यो ठूलो कारबाही हुन्छ भनिएको थियो ।

सागरको कमाण्डमा केही समयअघि एसटीफएम भन्ने टिम पठाइएको थियो । त्यसका ४५ जना साथीहरू गिरफ्तार परिसक्नु भएको थियो । जति मान्छे गए पनि गिरफ्तार भैहाल्ने हुनाले काठमाडौंमा कारबाही गर्न सकिदैन भन्ने पार्टीभित्र एउटा बुझाइ बनेको रहेछ । त्यस्तो अवस्थामा ड्रेस लगाएर मार्चपास मात्रै गर्न सक्यो भने पनि ठूलो धक्का हुन्छ भनेर पार्टीले भनेको थियो ।

मलाई चाहीं युनिफर्म नै लगाएर काठमाडौं आक्रमण गर्न सकिन्छ भन्ने आत्मविश्वास थियो । पहिले नेताहरूले अब हामी थानकोट आक्रमण गर्छौं भन्थे । जनार्दन शर्माले पश्चिममा भाषण गर्दा थानकोटमा आक्रमण गर्छौ भन्ने पनि हामीले सुनेका थियौं । त्यहाँबाट मेरो दिमागमा थानकोट बसेको थियो ।

तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले प्रचण्डसँग काठमाडौं उपत्यकामा एउटा थानकोट जस्तै अर्को लडाइँ आक्रमण गर्नुपर्‍यो भन्ने प्रस्ताव गर्नुभएको रहेछ ।

थानकोट आक्रमण गर्न मसहित २२ जना सैनिक हामीले छान्यौं । इलाका प्रहरी कार्यालय भएकाले इन्सपेक्टरको कमाण्डमा ४५ जनाको फोर्स त्यहाँ बस्थ्यो । हामी प्रहरी भन्दा फौजी तालिम र हतियारको हिसाबले बलिया भएकाले २२ जनाको मात्रै टिम बनायौं । दुई जना प्रहरी बराबर हामी एकजनाले सक्छौं भन्ने योजना हाम्रो थियो ।

हाम्रो दुईवटा सपना थियो । एउटा दिउँसो आक्रमण गर्ने । अर्को, जनमुक्ति सेनाको ड्रेसमै आक्रमण गर्ने । हामीले दिउँसो ४ बजेर ४० मिनेटको समय निर्धारण गर्‍यौं । हामीले भित्र सेनाको ड्रेस लगायौं । अन्तिम बेलामा खोल्ने भनेर बाहिर चाहीं सिभिल ज्याकेट लगायौं ।

तीन/चार जनाको समूह बनाएर थानकोटमा आइयो । काठमाडौंको कारवाही १० मिनेटमा सम्पन्न गर्ने हाम्रो लक्ष्य थियो । १० मिनेटभन्दा बढी बसियो भने हामी घेरबन्दीमा पथ्र्यौं । किनभने नजिकै नेपाली सेना र सशस्त्रका ब्यारेक थिए ।

त्यतिबेला शाही नेपाली सेनाले आतंककारीहरूले काठमाडौंभित्र कुनै गतिविधि गरे भने ५ मिनेटभित्र नियन्त्रणमा लिइसक्छ भनेर घोषणा गरेको थियो । हामीले सेनाको ५ मिनेटलाई च्यालेन्ज दिा पनि त्यो १० मिनेट राखेका थियौं । पाँच मिनेट होइन १० मिनेटमै पनि तिमीहरू सक्दैनौं भन्ने एउटा सन्देश हामीले दिनु थियो ।

हामीले समयमै कारबाही गर्‍यौं । सात मिनेटमै हाम्रो लडाइँ सकियो । केहीबेर प्रहरीले बन्दुक पड्काए । हाम्रो एक जना साथीको तिघ्रामा गोली पनि लाग्यो । आवश्यक हुँदा २२ जना नै शहीद हुन तयार हुनुपर्छ भन्ने संकल्प चाहीं हाम्रो टिममा थियो । तर हाम्रा १ जना मान्छेको पनि मृत्यु भएन । २२ जना नै सकुसल फर्कियौं ।

७ मिनेटको लडाइँमा उनीहरुतर्फ ११ जना प्रहरीको क्षति भयो । चौकी पूर्णरुपमा हामीले कब्जा गर्‍यौं । त्यहाँबाट २४ थान हतियार कब्जा गर्‍यौं । त्यहाँ तीन मिनेट जति नाराबाजी पनि गर्‍यौं ।

सर्वसाधारण शुरुको केही समय त फिल्म शुटिङ हो कि भनेर हेर्न थाले । पछि मैले कासन गरे- यो लडाइँ हो, गोली चलिरहेको छ । तपाईंहरू बाहिर ननिस्कनुहोस् ।

त्यसपछि मान्छेहरु घरभित्र गए । एकदमै फिल्मी शैली जस्तो लाग्छ त्यो आक्रमण । नाटकीय शैलीमा हामीले कारबाही गरेको हो । १० मिनेट भित्र हामीले लडाइँ जितेर हतियारसहित त्यहाँबाट लाग्यौं ।

आक्रमणपछि काठमाडौं एकदमै आतङ्कित थियो । भयभित थियो । पाँच मिनेटभित्रै नियन्त्रणमा लिन्छौं भनेका सेनाहरू बाहिर निस्कन सकेनन् । प्रहरी बाहिर निस्कन सकेन । एक स्टेपबाट अर्को स्टेपमा निस्कनलाई उनीहरूले निकै हिसाब गर्न थाले । उनीहरू आफैंदेखि आफै डराउने अवस्था बन्यो । सेनाले ‘मुभ’ गर्न सकेन ।

हाम्रो थानकोट बिजयले पार्टीभित्र उत्साह आयो । कालीबहादुर खामले फोन गरेर बधाइ दिनुभयो । अनन्तले फोन गरेर बधाइ दिनुभयो । बादलको पनि बधाइ सन्देश आयो । उहाँ पूर्वी कमाण्डको इन्चार्ज हुनुहुन्थ्यो । अध्यक्ष प्रचण्डले पनि बधाइ सन्देश पठाउनुभयो ।

गिरिजाको प्रस्तावपछि अन्तिम लडाईं
म सहभागि भएको अन्तिम लडाइँ चाहीं सिन्धुपाल्चोकको चौतारा हो । यो चाहीं २०६२ को चैत १० गतेको लडाइँ हो ।

त्यो गर्ने कि नगर्ने भन्ने द्विविधाबीच भएको थियो । तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले प्रचण्डसँग काठमाडौं उपत्यकामा एउटा थानकोट जस्तै अर्को लडाइँ आक्रमण गर्नुपर्‍यो भन्ने प्रस्ताव गर्नुभएको रहेछ ।

हतारमा चौतारा कारबाही हामीले गर्‍यौं । त्यहाँ पनि रातभर लडियो, तर कब्जा भएन । किनभने राम्रो तयारी थिएन । हौसला मात्रै बढी थियो । बाहिर जनआन्दोलन बढेको थियो ।

मलाई नै पार्टीले त्यसको जिम्मेवारी दिएको थियो । साँखुदेखि मुलपानी, थली, चाँगुनारायणतिर भएका सबै प्रहरी ब्यारेक हामीले सर्भे गरेका थियौं । पछि उहाँहरूले काठमाडौंभित्र आक्रमण गर्दा राजाले जनआन्दोलन गर्न आएका सबैमाथि आक्रमण गर्न सक्छन्, त्यसैले नगर्ने भन्ने कुरा आयो । हामीले सर्वे गरेर सम्पूर्ण तयारी गरिसकेपछि तपाईंहरु बाहिर आउनुपर्‍यो भन्ने कुरा भयो । हामी त्यहाँबाट निस्कदा चौतारा आक्रमण गर्ने योजना बनिसकेको रहेछ । चौतारा कारबाही हतारमा गरियो । त्यो जनुयुद्धको अन्तिम कारबाही थियो नेपालकै ।

हतारमा चौतारा कारबाही हामीले गर्‍यौं । त्यहाँ पनि रातभर लडियो, तर कब्जा भएन । किनभने राम्रो तयारी थिएन । हौसला मात्रै बढी थियो । बाहिर जनआन्दोलन बढेको थियो । सात दलसँग हाम्रो सहकार्य बढेको थियो । अहिले समीक्षा गर्दा त्यो कारबाही नगरिएको भए पनि हुन्थ्यो भन्ने लाग्छ ।

त्यहाँ हाम्रोतर्फ चारजना शहीद हुनुभएको थियो । कमाण्डर कालीबहादुर खाम ‘विविध’ हुनुहुन्थ्यो । म त्यतिबेला ब्रिगेड सहायक कमाण्डर थिएँ । गृहजिल्ला भएकाले त्यहाँको आक्रमणको सबैभन्दा जटिल क्षेत्रको जिम्मा मलाई दिइएको थियो ।

Comments

3 responses to “‘काठमाडौंमा आक्रमण गर्न गिरिजाको प्रस्ताव थियो’”

  1. Avish Pokhrel Avatar
    Avish Pokhrel

    K paayau tetro naas garera ????

  2. अशोक भट्टराई Avatar
    अशोक भट्टराई

    ए बिचरा!! ठुलै बहादुरी पो देखाएछौ। आफ्नै दाजुभाइ सग लडेर । ताकत भएको भए भारत सग लड्थ्यौ नि।

  3. लक्ष्मण चौलागाईं विद्रोही Avatar
    लक्ष्मण चौलागाईं विद्रोही

    पापी गिरिजा कहाँ होला ? सायदै जनहत्यारो पापी गिरिजा कोइरालाको आत्मा यदि शास्त्र झुठो होइन भने नर्ककै कुन्डमा डुबेको होला। यो लेख पढदा युवराज दुलाल शरद कमरेडलाई म केही भन्न चाहन्न तर कांग्रेसको गिरिजा र माओवादीको प्रचण्डको तिक्डमबाजीलाई चाहिँ खेद व्यक्त गर्दा मलाइ केही पात्रले गाली गर्लान । आज तिनै पुलिस गार्ड ,आज तिनै सेना गार्ड बनाएर हिडेको दलाल सत्ताले हिजोको जनयुद्दमा बिदेशी त मारेन ? सिमा मिच्ने भारतीय दलाल विरुद्द लडेन ,बरु तिनै भारतीयका दलाल रखेल दलाल रहेछ जनहत्यारो पापी गिरिजा !
    गणतन्त्र यदि जनतालाई लाभ हुने आएको थियो भने गिरिजा पनि महान नै भनिन्थ्यो तर जनताका छोराछोरीले जनताकै छोराछोरी मार्ने युद्धलाई समग्रमा जनयुद्ध भनियो। ४० वटा मोर्चा लडेका युवराज दुलाल शरदले ठूलो मृत्युहरु पार गर्दै मोर्चा लडेछन् सायदै उनले पनि त्यतिबेला देखेको सपना आजको जस्तो दलाल व्यवस्थाको त थिएन होला? आज शरद भारी मतले सांसद भएका छन् त्यो उनको इतिहासको साहसिक कमाईको फल भन्छु म । तर थुप्रै शरदहरु हिजो मरे मारिए तर आज शरदले यो व्यवस्था विरुद्द नोट अफ डिसेन्ट लेख्न सकेका भए म पनि गौरव वोध गर्थें।
    त्यही राजकीय सत्तामा रहेर पापी जनहत्यारो गिरिजाले माओवादीलाई पो कमान्ड गरेको रहेछ।
    गाउँमा सुनिन्थ्यो
    राप्रपालाई खोजी खोजी
    कांग्रेसलाई सोधी सोधी
    मार्ने कुरा
    तर कांग्रेसलाई सोधेर जनता मारेका रहेछन् प्रचण्डका कथित सर्वोच्च कमान्डिङ्हरुले ! ।
    यदि त्यो जनयुद्ध साच्चै जनयुद्ध थियो भने सिन्धुपाल्चोक होस या ओखलढुंगा या साखु या थानकोट या अन्य जति पनि मोर्चा कस्यो माओवादीले ती मोर्चा लिपुलेक ,सुस्ता ,महाकाली र टनकपुरमा लडिएका थिए र बहादुरी प्राप्त गरिएका थिए भने सांसद कमरेड युवराज दुलाल शरद वीर भक्ती थापा हुन्थे तर विडम्बना सांसद बन्नैको लागि मन्त्री बन्नैको लागि जनयुद्द लडेका थियौ त युवराज तिमिले ??
    अन्त्यमा ,युद्धको धर्म अनुरुप ज्युँदो सहिद रहेछन युवराज दुलाल शरद तर आजको अवस्थाले उहालाई नि पोलेको होला ,परिवर्तन झुप्रोमा नपुग्दा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *