नारायणकाजीको दाबी-संयुक्त आन्दोलन नभए पनि अहिले सिंगो देश आन्दोलनमा छ

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव पक्ष) का नेता एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूहरूले नेपाली कांग्रेस, जनता समाजवादी (जसापा) लगायतसँग मिलेर संयुक्त आन्दोलन गर्न चाहे पनि त्यसो नभएको बताएका छन् ।

यद्यपि अहिले सिंगो देश नै आन्दोलित भइरहेको उनको भनाइ छ। ‘यसलाई संयुक्तरूपमा अघि बढाउन चाहन्थ्यौं,’ बुधबार राजधानीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले भने, ‘हामी कांग्रेस, जसपासँग संयुक्त कार्यक्रम गर्न चाहन्थ्यौं । त्यो अहिले भएको छैन तर हामी छलफलमा छौं ।’

श्रेष्ठले अहिले देश भने आन्दोलित भइरहेको बताए। ‘सरकारी गुटबाहेक सिंगो देश अहिले आन्दोलनमा छ’ उनको दाबी छ, ‘संयुक्त आन्दोलन नभए पनि अहिले सिंगो देश आन्दोलनमा छ ।’

उनले अहिलेको चुनाव लोकतन्त्रको हत्या गरेर घोषणा गरिएको टिप्पणी गरे। ‘एउटा कुरा सुनिरहेका छौं, चुनावमा भाग लिनुभन्दा ठूलो लोकतान्त्रिक कुरा के हुन्छ भनेर भनिरहेका छन्’ उनको भनाइ छ, ‘यो लोकतन्त्रअन्तर्गतको चुनाव होइन । लोकतन्त्रको लागि गर्न लागिएको चुनाव होइन । यो वास्तविक चुनाव होइन ।’

संयुक्त संघर्ष समितिका संयोजकसमेत रहेका श्रेष्ठले केपी ओली ‘फासिस्ट’ भएको आरोप लगाए । ‘संविधानको धारा र अक्षरमा कालो मोसो पोतेर फासिवाद लाद्ने काम हुँदैछ’ उनले भने, ‘केपी ओली फासिस्ट हुन् । यसलाई कुनै पनि रूपमा सफल हुन दिइँदैन ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *