एकल महिलामाथि जघन्य हिंसा– झाँक्रीलाई फौजदारी मुद्दा चलाइयोस्

देशका तीन प्रमुख राजकीय पद राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुखमा एकैपटक तीनजना महिलाको नेतृत्व हुँदा नेपालले विश्वलाई सन्देश दियो- ‘हामी अन्य कुनै देशभन्दा महिला सहभागिताको मामिलामा एक कदम अगाडि छौं ।’

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानन्यायाधीश सुशीला कार्की र सभामुख ओनसरी घर्ती एकैपटक राज्यको प्रमुख अंगको प्रमुख भएका थिए । नेपालले गर्व गरिरहेको त्यो क्षणमा पनि मिडिया सिण्डिकेट चलाइरहेकाहरू र लेखक बुद्धिजीवी तथा लैंगिक समानताको लागि लड्ने अभियन्ता भनिएकाहरूले त्यो गौरवपूर्ण क्षणलाई स्वागत गर्न सकेनन् ।

बरु उनीहरूले महिला नेतृत्वमा पुग्दैमा आम महिलाको जीवनमा कुनै फरक पर्दैन भन्दै उनीहरूलाई नेतृत्वका कठपुतलीको संज्ञा दिए । शेरबहादुर देउवा र पुष्पकमल दाहालले मुलुकको इतिहासकै पहिलो महिला प्रधानन्यायाधीशविरुद्ध महाभियोग नै लगाए ।

केपी ओलीको एकल प्रयासमा संसदले त्यसलाई पारित गरेन र हालका प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको एकल इजलासले सुशीला कार्कीविरुद्धको महाभियोगलाई खारेज गर्‍यो । कोही मान्छे कालान्तरमा कृतघ्न बन्न सक्छ, तर सुशीला कार्कीको महाभियोग असफल पार्ने दुई प्रमुख पात्र नै आज देशको कार्यपालिका प्रमुख र न्यायपालिका प्रमुख छन् ।

अग्रज महिला नेता विन्दा पाण्डेले केही समयअघि भनेको कुरा अहिले पुनः चर्चामा छ । महिलाका केही कुरामा खोट लगाउने ठाउँ पाएनन् भने मान्छेहरू चरित्र उधिन्न थाल्छन् । राजनीतिक कुरा सकिएपछि व्यक्तिगत हुने निकृष्ट संस्कारको नेतृत्व अहिले दुःखका साथ भन्नुपर्छ कुनै बेला हामीले नै नेता मानेकी अग्रज रामकुमारी झाँक्रीले गरिरहेकी छन् ।

रामकुमारीमा आलोचनात्मक चेत छैन र उनी आफ्नो आलोचना गर्नेलाई भौतिक हमलामै उत्रिन्छिन् भन्ने त अनेरास्ववियूमा उनीसँगै काम गरेका अग्रजहरूले बेला बेलामा लेखेरै सार्वजनिक गरिरहेका छन् । हामीजस्ता नयाँ पुस्ताका कार्यकर्तालाई उनीसँग वैचारिक असहमति राखेकै कारण ‘तालिवानी सेना’सम्मको आरोप पनि सार्वजनिक रूपमा लगाएकै हुन् ।

रामकुमारीजस्ता अग्रजहरूलाई देखेर राजनीतिमा लागेकाहरू आज उनका अराजनीतिक र अश्लील टिप्पणीहरू सुनेर लज्जित हुँदैछन् । उनले पछिल्लोपटक गोरखामा पुगेर देशकै सर्वाेच्च संस्था राष्ट्रपति र व्यक्तिगत रूपमा नेपाली महिलालाई समान अधिकार दिलाउने आन्दोलनकी एक अग्रज नेता विद्यादेवी भण्डारीलाई जुन शब्दबाट लाञ्छित गरेकी छन् ती शब्द सभ्य समाजले सुन्न पनि नसक्ने खालका छन् ।

गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति भएदेखि नै विद्या भण्डारीमाथि विशेषतः मूलधारका मिडियामा सिण्डिकेट बनाएर बसेका कथित बौद्धिक जमात, कथित महिला अधिकारकर्मी र रामकुमारी झाँक्री प्रवृत्तिका व्यक्तिहरूले विभिन्न वहानामा आक्रमण गरिरहेकै हुन् । राष्ट्रपति पदमा जनताको छोरी निर्वाचित भएको त्यो सफेदपोश जमातलाई रुचेको थिएन ।

तर झाँक्रीले त सबै मर्यादाका सीमाहरू भत्काएर व्यक्तिगत तहमा उत्रेर चरित्रहत्याको सहारा लिइन् । गणतन्त्रको प्रतीक संस्थालाई बडामहारानी भन्ने,एकल महिलालाई सेतो सारीवाला भनेर अत्यन्तै घृणित शब्दहरू प्रयोग गर्ने र शीतलनिवास छाडेर बालकोट जाऊ भन्ने जस्ता चरित्रहत्याका शब्द प्रयोग गर्दा पनि आज लैंगिक विभेदविरुद्धका अभियन्ता भन्नेहरू मौन समर्थन जनाउँदैछन् ।

कुनै बेला नेकपाकै राजनीति गर्ने झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीदेखि धरान उपमहानगरपालिकाका पूर्व मेयर तारा सुब्बाको निधनपछि एकल महिला बनेकी इन्दु सुब्बासम्मका महिलामाथि एकैपटक धावा बोलेकी छन् । त्यो पनि राजनीतिक इस्यू लिएर होइन सेतो सारी लाउनेलाई पार्टीले टिकट दिनुहुँदैन भनेर ।

कसलाई टिकट दिने र कसलाई नदिने भन्ने सम्बन्धित पार्टीको विषय हो । जिताउने र हराउने जनताको अधिकार हो । तर, जिन्दगीमा एकपटक पनि जनताको बीचमा परीक्षण हुन वडा सदस्यको समेत उम्मेदवारी दिनबाट भागेकी रामकुमारीले जसरी एकल महिलाको पहिरन र पति गुमाउने महिलाको मानवीय संवेदनामाथि विषवमन गरेकी छन्, त्यो भने क्षम्य छैन ।

झाँक्रीमाथि जातीय र लैंगिक विभेद, एकल महिलामाथि हिंसा र चरित्रहत्याको अभियोगमा फौजदारी कारबाही चलाइनुपर्छ । झाँक्रीलाई यो घृणित अभिव्यक्ति दिंदा पनि राजनीतिका नाममा उन्मुक्ति दिइने हो भने भोलि धेरै झाँक्रीहरूले घर घरमा एकल महिलाहरूमाथि तातो पन्युँ पोल्नेदेखि चोक बजारमा घुमाएर हुर्मत लिने अपराध गर्न छुट पाउनेछन् ।

विद्या भण्डारी शीतलनिवासमा कसैको निगाहमा पुगेको होइन । सार्वभौम नेपाली जनताको मतबाट राष्ट्रप्रमुख बन्नुभएको हो । संविधानले तोकेको कार्यकाल पूरा गरेपछि उहाँ शीतलनिवासबाट फर्केर आफ्नो निवासमा फर्किनुहुनेछ । झाँक्रीले जसरी राष्ट्रपतिलाई बालकोट जान भनेकी छन्, कि त उनले बालकोटमा विद्या भण्डारीको घर देखाउनुपर्छ, होइन भने उनले कसको घरमा जाऊ भनेको हो बताउनुपर्छ ।

यो उनको सामान्य अभिव्यक्ति होइन र उनी सामान्य व्यक्ति पनि होइनन् । उनी नेकपाको केन्द्रीय सदस्य हुन्, जुन पार्टी अहिलेसम्म कानूनी रूपमा विभाजित भएको छैन र त्यसको अध्यक्ष केपी ओली हुनुहुन्छ । उनी विघटित प्रतिनिधिसभाको समानुपातिक सांसद हुन् र उनलाई त्यो टिकट दिएर सांसद बनाएको पनि केपी ओलीले हो । तत्कालै उनीमाथि अनुशासनको कारबाही गरी एकल महिलामाथि लैंगिक हिंसा गरेको र राष्ट्रपतिको चरित्रहत्या गरेको अभियोगमा पक्राउ गरेर फौजदारी मुद्दा चलाउनुपर्छ ।

यसअघि राष्ट्रपतिदेखि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसम्मका व्यक्तिहरूको चरित्रहत्या गरेको अभियोगमा कतिपय सर्वसाधारणले साइबर अपराधको मुद्दा झेलिसकेका छन् । त्योभन्दा गम्भीर प्रकृतिको अपराध गरेकी झाँक्रीलाई उन्मुक्ति दिइयो भने भोलि बिना मगरहरू पनि चरित्रहत्याको शिकार हुने सिलसिला चल्नेछ । यो व्यक्तिको वा पार्टीको कुरा होइन प्रवृत्तिको कुरा हो ।

रामकुमारी झाँक्री प्रवृत्तिले आज विद्या भण्डारी र इन्दु सुब्बाहरूलाई लैंगिक हिंसा तथा चरित्रहत्या गर्दा ताली बजाउनेहरू कोही छन् भने उनीहरूले कान खोलेर सुने हुन्छ । भोलि झाँक्री प्रवृत्तिले प्रचण्डको घरभित्रका कथाहरू उधिन्न थाल्नेछ । झलनाथ र योगेश भट्टराई अनि घनश्याम भुसालहरूका घरभित्र पस्नेछ झाँक्री प्रवृत्ति।

राजनीतिमा महिला सहभागिता किन कम भयो ? राजनीतिमा लागेका महिलाहरू किन पलायन भए ? किन नयाँ पुस्ताका महिला राजनीतिमा आउन मान्दैनन् ? महिलालाई किन दलहरूभित्र ३३ प्रतिशत प्रतिनिधित्व छैन ? किन महिलाले प्रमुख पद पाउँदैनन् ? यी प्रश्नहरूमा धेरै बहस भए । तर, झाँक्री प्रवृत्तिका कारण महिलाहरू राजनीतिक हिंसामा परेको कुरा बहस हुनुपर्छ ।

यदि झाँक्री प्रवृत्तिलाई सबै मिलेर घृणा नगर्ने र कानूनी दायरामा ल्याएर दण्ड नदिइने हो भने भर्खर विद्यार्थी राजनीतिमार्फत मुलुकको नेतृत्व गर्ने सपना बोकेर अघि बढेका हामीजस्ता हजारौं युवा महिलाहरूले पाइला पाइलामा हिंसा भोग्नुपर्नेछ र राजनीतिबाट पलायन हुनुपर्नेछ । यो कुनै पार्टी गुट वा संगठनको कुरा होइन, सबै राजनीतिक आस्था बोकेको युवा महिलाहरूको भविष्यको सवाल हो ।

हामी कस्तो राजनीतिक संस्कार विकास गर्दैछौं ? झाँक्री प्रवृत्तिमाथि मौनता साध्ने हरेक महिलाले भोलि चरित्रहत्याको शिकार हुनुपर्नेछ । महिलालाई तल पार्न प्रयोग हुने अस्त्र झाँक्रीले जस्तै सबैले चलाउनेछन् । हरेक युवा महिलालाई कुनै पुरुषसँग जोडेर वा उसको चरित्रसँग जोडेर हिंसा गर्ने र आत्महत्या गर्नेसम्मको अवस्था झाँक्री प्रवृत्तिले पुर्याएको छ ।

झाँक्री कुन पार्टीकी हुन्, कुन गुटकी हुन् एकछिनलाई बिर्सौं । के झाँक्रीले एकल महिलाप्रति व्यक्त गरेका घृणायुक्त लाञ्छना सभ्य समाजले स्वीकार गर्न सक्छ ? यही लाञ्छना नेपाली कांग्रेसका सीतादेवी यादवदेखि काशी पौडेलसम्म, नेकपाका पम्फा भुसालदेखि बिना मगरसम्मका नेताहरूमाथि झाँक्री जस्तै कुनै अर्कोले लगाएर भाषण गर्यो भने क्षम्य हुन्छ ? एकपटक सोचौं र जुरुक्कै उठेर यो हिंसाविरुद्ध बोलौं ।

रामकुमारी झाँक्रीलाई व्यक्तिगत रूपमा अहिले पनि हामी हाम्रो अग्रज नेताका रूपमा सम्मान गर्न तयार छौं । पार्टी फरक होला, भोलि फेरि एकै ठाउँमा भेट होला । यी राजनीतिक विषय हुन् । उनले राष्ट्रपतिलाई शीतलनिवास छाडेर आफूसँग चुनाव लड्न चुनौती दिएकी छन् त्यो पनि राजनीतिक कुरा हो ।

उनले आफू पनि विद्या भण्डारीलाई भारी पर्ने भन्दै कुनै रेखा लोप्चनलाई होच्याएर उनीसँग चुनाव लड्न आउन भनेकी छन् । त्यो पनि ठीकै छ । राष्ट्रपति भइसकेको व्यक्ति फेरि राजनीतिमा फर्किने नफर्किने वा चुनाव लड्ने नलड्ने भविष्यको कुरा हो । के रामकुमारी झाँक्रीले चुनावको नाममा आजसम्म वडामा फेस गर्ने हिम्मत देखाएकी छन् ?

विद्या भण्डारी नै नेकपा एमालेको उपाध्यक्ष हुँदा यिनै झाँक्रीलाई गुल्मी क्षेत्र नम्बर १ मा दोस्रो संविधानसभा निर्वाचनमा चुनाव लड्न जान भन्दा जनताको सामना गर्न डराएर भागेकी हुन् । विद्या भण्डारीले कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईदेखि वहालवाला सभामुख दमननाथ ढुंगानासम्मका हस्तीलाई पराजित गरेर आजको यो स्थान प्राप्त गरेको झाँक्रीले बुझपचाए पनि दुनियाँले बुझेको छ ।

राजनीतिक कुरामा झाँक्रीसँग जति असहमति भए पनि हामी उनको चरित्रमाथि कहिल्यै प्रश्न उठाउँदैनौं र अरु कसैले उठाए पनि उनको पक्षमा उभिएर प्रतिवाद गर्नेछौं । किनकि हामीलाई यो चेतना राजनीतिले होइन हाम्रो हुर्काइले दिएको छ । जहाँसम्म चुनाव लड्ने कुरा छ, म उनलाई भन्न चाहन्छु विद्या भण्डारी होइन स्थानीय तहमा लो प्रोफाइलमा बसेर काम गर्ने कार्यकर्तासँग चुनाव लड्ने हिम्मत राखे हुन्छ ।

यो राजनीतिक कुरामा बहस गर्न लेखिएको होइन । राजनीतिक कुरामा त हामी राजनीतिको मैदानमै भिड्छौं । सामाजिक सञ्जालबाट राजनीतिक प्रतिवाद गर्छौं । तर, यहाँ झाँक्री नेताको होइन झाँक्रीरूपी स्त्रीद्वेषी, एकल महिलाप्रति असहिष्णु र महिला हिंसा गर्ने पात्रसँगको कानूनी लडाइँको प्रश्न हो ।

झाँक्री बोलिन् भन्दा पनि झाँक्रीरूपी स्त्रीद्वेषी काल पल्कियो भन्ने कुरा सबैले हेक्का राखौं । आज नेपालको युवा विद्यार्थी राजनीतिमा पढेलेखेका युवा महिलाको रहरलाग्दो उपस्थिति बढिरहेको छ । युवा महिलाको यो पालुवा निमोठ्ने झाँक्री प्रवृत्ति हरेक पार्टीभित्र मौलाउन नदिन एकपटक राजनीतिक दल र गुटभन्दा माथि उठेर भनौं- ‘झाँक्रीलाई फौजदारी अभियोग लगाऊँ र अरु झाँक्रीहरूलाई दुरुत्साहन गरौं ।’

(थापा अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य हुन्)

Comments

8 responses to “एकल महिलामाथि जघन्य हिंसा– झाँक्रीलाई फौजदारी मुद्दा चलाइयोस्”

  1. sanjay ghimire Avatar
    sanjay ghimire

    Lovely article

  2. Nabaraj Shrestha Avatar
    Nabaraj Shrestha

    अतिनै राम्रो विश्लेषण युक्त लेख,झाक्रीको प्रविर्ती अत्यन्तै अमानविय र तल्लो स्तरको रहँदै आएको छ ।कानुनी कारबाहीको हुनुपर्छ भन्ने एकदम जहायज छ।

  3. Ganesh Avatar
    Ganesh

    वाहियात समाचार । प्रतिगमन र सत्ताकाे भद्धा दलाली ।

  4. नवराज दाहाल Avatar
    नवराज दाहाल

    लेख त राम्रै छ।लेखमा लैंगिकता प्रस्ट झल्किन्छ ।यो लेख कुनै नारी पात्रले लेखेको हो भन्ने कुरा राम्रैसंग झल्किन्छ।हो महिलालाइ नेपाली समाजमा भनाइमा पुजिन्छ तर ब्यवहारमा त्यस्तो छैन।कसैलाइपनी योनिकताको कुरायाएर लान्छना लाउन पाइन्न तर एकपटक लेखकले राद्ट्रपतिको भुमिकालाइ लिएर ,उनको ओलिसंगको उदारता(मोह) लाई लिएर पनि कलम चलाउने हिम्मत गर्नुभए हुन्थ्यो।

  5. Ramita Lama Avatar
    Ramita Lama

    नेपालका युवा महिलाले यति गहिरोसँग विषयबस्तु समातेर लेख्न सक्ने रहेछन्,नेपाली राजनीतिमा तपाईको भविष्य राम्रो देखियो अस्मिताजी । अगाडि बढ्नुस ।

  6. भूपल कार्कि Avatar
    भूपल कार्कि

    अस्मिता जि ले उठान गरेका सनदर्भ एउटा बिद्ध्या भण्डारिको लागि नभएर आम नेपालि आमा दिदि बहिनि हरुको हक मा पनि प्रतिनिधित्व गरेका छन ।
    बुडि मरि भन्दापनि काल पल्कियो भन्ने उखान लाई सतर्क रहन सुझाएको र लेख खर्चिएको देखिन्छ । धन्यबाद 🙏🙏

  7. Ram Krishna Guragain Avatar
    Ram Krishna Guragain

    राम्रो विश्लेषण ।

  8. Hira Avatar
    Hira

    आर्टिकल ठिकै छ,लेख्ने मान्छे चाहिँ कामुक लाग्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *