राउटेको गुनासो: भत्ता पुगेन, जंगलमा बाँदर पाइन छाडे

सुर्खेत । फिरन्ते जाति राउटेले प्रदेश सरकारबाट पाउनुपर्ने भत्ता नपाएको भन्दै गुनासो गरेका छन् । कर्णाली प्रदेश सरकारले चार महिनाअघि दिने घोषणा गरेको थप दुई हजार रुपैयाँ भत्ता नपाएको भन्दै उनीहरुले गुनासो गरेका हुन् ।

उनीहरुले अहिले मासिक तीन हजार रुपैयाँ भत्ता पाइरहेका छन् ।

‘हामीलाई प्रदेश सरकारले हरेक महिनामा दुई हजार थप भत्ता दिने भनेको थियो, मुख्यमन्त्रीले हाम्रै घरमा आएर भनेका थिए’, राउनेट युवा खेमराज शाही भन्छन्, ‘पाँच हजार भत्ता भए घरखर्च चलाउन सजिलो हुने थियो ।’

मुख्यमन्त्री शाही, सामाजिक विकासमन्त्री दल रावल, भूमी व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीलगायतको टोलीले गएको असोजमा दुई हजार भत्ता थप्ने घोषणा गरेका थिए ।

घोषणाको तीन महिनापछि पुसमा बसेको मन्त्रिपरिषद् बैठकले दुई हजार भत्ता बढाउने निर्णय पनि गरिसकेको छ । मन्त्रिपरिषद्ले नै निर्णय गरिसक्दा पनि रकम हात नपर्दा दुख लागेको राउटे समुदायका अगुवा युवा खगेन्द्र शाहीले बताए ।

‘खानलाई जंगलमा बाँदर पाउन छोडिसक्यो । भाँडा बनाउन काठ पनि पाइँदैन’ उनले गुनासो गरे, ‘सरकारले महिनाको पाँच हजार दिए सजिलो हुने थियो ।’

गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले प्रदेश सरकारबाट आउने भनेको थप रकम नआइपुगेको बताए । राउटे समुदायमा १४६ जना छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *