गोकुल बास्कोटा भन्छन्– सूर्य चिह्नको विवाद सकियो, प्रचण्ड–माधव पक्षले अर्को दल दर्ता गर्न सक्छन्

काठमाडौं । पूर्व सञ्चारमन्त्री तथा प्रधानमन्त्री केपी ओली निकट नेता गोकुल बास्कोटाले सूर्य चिह्न कसको हुने भन्ने विवाद नरहेको भन्दै प्रचण्ड–माधव पक्षलाई त्यही चिह्नबाट चुनाव लड्न मन भए ओलीको नेतृत्वमा फर्किनुपर्ने बताएका छन् ।

नेपाल प्रेससँग कुरा गर्दै बास्कोटाले केपी ओली नै पार्टीको प्रमुख पदाधिकारी र महासचिवले बोलाएको बैठकमात्र वैध हुने भनेर निर्वाचन आयोगले प्रष्ट निर्णय गरिसकेकाले अब नेकपाको आधिकारिकता विवाद नरहेको बताए ।

बास्कोटाले भने– केही मान्छेमा निर्वाचन आयोगको निर्णयले भ्रम पैदा भयो भन्ने लागेको देखियो । तर आयोगले प्रष्ट भनिसक्यो । नेकपाको आधिकारिकता सम्बन्धी निर्णयमा चित्त नबुझ्ने पक्षले अदालत जाने वा अर्को दल दर्ता गर्नेबाहेक अरु विकल्प बन्द भएका छन् ।

बास्कोटाले अब निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आयोगले आह्वान गर्ने बेला भएकाले प्रचण्ड–माधव पक्ष अर्को दल दर्ताका लागि जानुपर्ने बताए ।

ओलीले पार्टी नफुटाएको र प्रचण्डलगायत कसैलाई पनि कारवाही गरेर नहटाएकाले आधिकारिक पार्टी ओलीकै नेतृत्वमा रहेको उनको दावी छ ।

बास्कोटाले भने– पुस ५ अघिको निर्णयलाई आयोगले मान्यता दियो । त्यही निर्णयका आधारमा उपचुनाव र राष्ट्रियसभा चुनावमा केपी ओलीको हस्ताक्षर भएको मनोनयनपत्रमा नेकपामा उम्मेदवार चुनाव लडेका हुन् । अब पनि सूर्य चिह्नबाट उम्मेदवार बन्नेहरुले अ‍ोलीको दस्तखत भएको मनोनयनपत्र दाखिला गर्नुपर्छ ।

आयोगको निर्णयविरुद्ध ओली पक्ष अदालत वा आयोग कतै नजाने उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *