देउवा निवासमा जब उठ्यो गच्छदारको गुनासो र माधव नेपालको ‘कल’ प्रसंग

काठमाडौं । २०४८ सालपछि सत्ता राजनीतिमा सधैं चलायमान र शक्तिमा रहेका थोरै पात्रमा पर्छन् बिजयकुमार गच्छदार । तत्कालिन राजा ज्ञानेन्द्रले कुनै समयका उनी जस्तै शक्तिशाली कांग्रेस नेताहरु खुमबहादुर खड्का र चिरन्जिवी वाग्ले जस्तालाई भ्रष्टाचार मुद्दामा जेल हाल्दा पनि गच्छदार जोगिएर गणतन्त्रकालिन सत्ता समिकरणमा झन ठूला खेलाडी बनेर निस्किएका थिए ।

तर अहिले गच्छदार राजनीतिक जीवनकै कठिन र कमजोर घडीमा छन् । बालुवाटारको जग्गा प्रकरणमा अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएपछि सांसद पदमात्र गएको छैन, बाँकी राजनीतिक जीवन पनि धरापमा छ । उनले बालुवाटार प्रकरणबाट जोगिन प्रधानमन्त्री केपी ओलीदेखि आफ्नै सभापति शेरवहादुर देउवालाई नगुहारेका होइनन् ।

बुधबार विहान देउवा निवास बुढानिलकण्ठमा पनि यही विषयले प्रवेश पायो । बुधबार बिहान कांग्रेसका ‘पूर्वेली’ नेताहरु भेला भए । प्रदेश नम्बर एकमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावबारे राय लिन सभापति देउवाले गच्छदार सहित सो प्रदेशका नेताहरुलाई बोलाएका थिए ।

गम्भीर राजनीतिक विषयमाथिको छलफल भएपनि बैठकको सुरुवात उपसभापति बिजयकुमार गच्छदारको गुनासोबाट सुरु भयो । गच्छदार विघटित प्रतनिधिसभामा कांग्रेस संसदीय दलको उपनेता थिए । बालुवाटार जग्गा प्रकरणमा अख्तियारले मुद्धा चलाएपछि उनको संसदीय भूमिका ‘निलम्बित’ अवस्थामा रह्यो ।

यद्यपि कांग्रेस उपसभापतिका हैसियतले पार्टीका आन्तरिक राजनीतिका महत्वपूर्ण मञ्चहरुमा गच्छदार उभिने गरेका छन् । बुढानिलकण्ठ बैठकमा आफ्नो राजनीतिक क्रियाशीलता कम भएको सन्दर्भ दिदैं गच्छदारले धारणा राखे ।

‘मलाई षड्यन्त्रपूर्ण ढंगले मुद्धा चलाइयो । ममाथि अन्याय भइरहेको छ भनेर पार्टीभित्र बारम्बार भनेको छु । यही मुद्धाका कारण राजनीतिक गतिविधि पनि कम गरेको छु ।’, बैठकको सुरुमै गच्छदारले गुनासो गरे ।

बालुवाटार जग्गा प्रकरणमा आफूले कुनै गल्ती नगरेको दावी गर्दै आएका गच्छदारले राजनीतिक प्रतिशोध राखेर नेता सिध्याउने काम भइरहेको बताए । ‘पहिले मलाई सिध्याउन मुद्धा चलाइयो । अब सुन्दैछु माधव नेपाललाई पनि मुद्धा लाग्दैछ रे । यसबारेमा पनि साथीहरुको ध्यान जाओस्’, गच्छदारले भने ।

आफू र माधव नेपाल मात्रै नभएर प्रधानमन्त्री केपी ओलीले जोकोहीलाई प्रतिशोधको आधारमा मुद्धा चलाउन सक्ने गच्छदारको दावी थियो ।

‘मैले राजनीतिक रुपमा मलाई सिध्याउन मुद्धा चलाइँदैछ भनेर बारम्बार भनेकै हो । अब माधव नेपाल मात्रै होइन यसको श्रृखंला लामो छ । जसलाई पनि झूठो मुद्धा लगाउन सक्छ’, गच्छदारले भने ।

गच्छदारले अदालतबाट न्याय पाउनेमा आफू विश्वस्त रहेको भएपनि अहिले अदालतमा नै सत्ताको छायाँ पर्न थालेकोले सबै सचेत हुनुपर्ने बताए ।

शेरबहादुरलाई माधवको कल

गच्छदारले बोल्ने क्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सभापति देउवाबीचको टेलिफोन संवादको प्रसंग समेत झिकेको त्यहाँ सहभागी नेताहरुले नेपालप्रेसलाई बताए । जुन कुरा उनीहरुका लागि नयाँ थियो ।

‘तपाईलाई माधवजीले फोन गरेर बालुवाटार प्रकरणमा आफूलाई मुद्धा हाल्नसक्ने बताउनुभएको रहेछ । तपाईले प्रधानमन्त्रीसंग कुरा गर्छु भन्नुभयो रे । के कुरा गर्नुभयो ?’, गच्छदारले भने ।

गच्छदारको गुनासोपछि सभापति देउवाले आफूले मुद्धा लाग्न नदिन धेरै प्रयास गरेको बताएका थिए । ‘तपाईको लागि पनि मैले धेरै गरेको हो । माधवको बारेमा पनि प्रधानमन्त्रीसंग कुरा गर्छु भनेको हो । यो गम्भीर कुरा हो ।’, देउवाले भने ।

बैठकमा गच्छदारले प्रतिशोधका आधारमा मुद्धा चल्दै जाने हो भने कोही सुरक्षित नहुने भन्दै देउवालाई सचेत गराएका थिए । अख्तियारको मुद्धाबारे गुनासो सकिएपछि राजनीतिक विषयमा गच्छदारले धेरै कुरा राखेनन् ।

‘मलाई शेरधन राई र भीम आचार्य दुवैले फोन गरेका थिए । पार्टीले निर्णय गर्छ भनेको छु’, उनले भने । गच्छदारले आफू राजनीतिक रुपमा कम सक्रिय रहेकोले प्रदेश र जिल्लामा निरन्तर गइरहने नेताहरुको सुझाव अनुसार अघि बढ्नुपर्ने बताउँदै भनाई त्यस सन्दर्भमा बिट मारेका थिए ।

गच्छदारको राजनीति

२०२६ सालमा विद्यार्थी राजनीतिमार्फत गच्छदार नेपाली कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरेका थिए । २०४८ सालदेखि हालसम्म संसदीय निर्वाचनमा गच्छदार अपराजित छन् । २०६४ सालदेखि २०७४ सालसम्म एक दशक भने गच्छदार कांग्रेसमा रहेनन् ।

कांग्रेसबाट अलग रहेको एक दशकमा मधेशी जनअधिकार फोरम हुँदै गच्छदार लोकतान्त्रिक फोरमको अध्यक्षसमेत रहेका थिए । गत आमनिर्वाचन अघि पार्टी एकतामार्फत कांग्रेसमै फर्किएका गच्छदार २०७४ सालको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए ।

हालसम्म १२ पटक मन्त्री बनेका गच्छदारले ४ वटा मन्त्रिपरिषदमा उपप्रधानमन्त्रीको जिम्मेवारी समेत पाएका थिए । कांग्रेसमा फर्किएपछि उपसभापतिको भूमिकामा रहेको गच्छदारका तर्फबाट ११ जना कांग्रेस केन्द्रीय सदस्य बनेका छन् ।

ललिता निवास जग्गा प्रकरणमा अख्तियारले डामेपनि कांग्रेसको आन्तरिक राजनीतिमा भने गच्छदारको भूमिका महत्वपूर्ण हुने गर्दछ ।

Comments

One response to “देउवा निवासमा जब उठ्यो गच्छदारको गुनासो र माधव नेपालको ‘कल’ प्रसंग”

  1. Dinesh Nepali Avatar
    Dinesh Nepali

    मंत्रिपरिसदले गरेको निर्णय मान्न बाध्य सानातिना कर्मचारीलाई मात्र कारबाही गरेर के हुन्छ ??? खोइ बालुवाटार जागा प्रकरण का मुख्य नाइके बाबुराम भट्टराई र माकुनेलाइ कारबाही गरेर खोरमा जाकेको ???? खोइ दलाल, ब्यापारी र ठुला कर्मचारीलाई कारबाही ???? आफ्नै मन्त्रिपरिसद मा रहेका मन्त्रिहरु कारबाहीमा पर्ने, तर तेसको मुख्य नाइके प्रधानमन्त्री चाहीे नीतिगत निर्णय गरेको भन्दै मुद्दा चलाउन डराउने र बचाउने कस्तो कुकर्म अख्तियार को ??? सोझासाझा जनतालाई नैतिकता र अरुलाई अर्ति उपदेश दिदै हिड्ने भारतीय दलाल भनेर आरोप लागेका बाबुराम र माकुनेको असली अनुहार देखिसकेपछि तुरन्त खोरमा जाक !!! येस्ता गद्दार पाखण्डी नेता हरुलाइ पनि महान भनेर पछी लाग्ने भरौटे हरुको चेतना स्तरलाई पनि धिक्कार छ !!!! जय नेपाल, जय नेपाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *