प्रचण्ड–माधव पक्ष दोस्रो चरणको आन्दोलनमा एक्लै नजाने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष) ले प्रतिनिधिसभा विघटनविरुद्धको पहिलो चरणको कार्यक्रम सफल भएको निष्कर्ष निकालेको छ ।

बुधबार पेरिसडाँडामा बसेको नेकपा स्थायी कमिटीको अनौपचारिक बैठकले पहिलो चरणको आन्दोलनको समीक्षा गरेको हो ।

‘अनौपचारिक बैठक थियो’ स्थायी कमिटी सदस्य रघुजी पन्तले नेपाल प्रेससँग भने, ‘पहिलो चरणको आन्दोलनको समीक्षा भयो । देशभरिकै आन्दोलन राम्रो भयो भन्ने निष्कर्ष निकालिएको छ।’

दोस्रो चरणको आन्दोलन भने एक्लै भन्दा संयुक्त रुपमा गर्न उचित हुने निष्कर्ष बैठकले निकालेको छ । दोस्रो चरणको आन्दोलनका लागि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग छलफल गर्ने समझदारी बनेको पन्तले बताए ।

‘अहिले विभिन्न दलहरुसँग पनि वार्ता भइरहेकाले दोस्रो चरणको आन्दोलनबारे ठोस निर्णय केही पनि भएन’ उनले भने, ‘जसपा र नेपाली कांग्रेसलगायतका पार्टीसँग पनि संयुक्त आन्दोलनका कार्यक्रम लिएर जाने कि भन्ने भइरहेको छ ।’

अहिलेलाई अरु पार्टीहरुसँग छलफल गरेर संयुक्त संघर्षलाई नै प्राथमिकता दिने भन्ने भए पनि ढिला भए एक्लै आन्दोलनका कार्यक्रम घोषणा गरिने पन्तले जानकारी दिए।

उनले भने, ‘मिलेर आन्दोलनमा जाने कुरामा अहिले ढिला भयो भने चाहिं हामी छिट्टै नै अर्को कार्यक्रम दिन्छौं ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *